–कृष्ण न्यौपाने/रासस    


दमौली : मेरा इनार , न त सत्तल पाटी केही छन्
जे चिज र धनहरु छन् घरभित्र नै छन्
त्येस् घाँसीले कसरी आज दियेछ अर्ती
धिक्कार हो मकन बस्नु नराखी किर्ती ।(भानुभक्त आचार्य)

आदिकविको माटो र ढुङ्गाले बनेको २०० वर्षभन्दा पुरानो त्यही घरको गाह्रो अहिले चारैतिर भत्केर भग्नावशेष मात्र बाँकी छ । घरभित्रै विभिन्न जातका ठुल्ठूला काँडासहितका बिरुवा हुर्केका छन् । भग्नावशेष हेर्दा घरको भित्ताजस्तो पनि देखिँदैन ।
नेपाली भाषाका धरोहर आचार्यको जन्मघरको यो दुर्दशा देख्ने जो कोहीको पनि मन कटक्कै खान्छ । तनहुँको भानु नगरपालिका वडा नं ४ शिखरकटेरीस्थित भानुगृह पुनःनिर्माण नहुँदा बेवारिसे अवस्थामा पुगेको छ ।

केही दिनअघि साहित्यकार डा नवराज लम्सालले आचार्यको खण्डहर घर अगाडि बसेको तस्वीर फेसबुकमा पोष्ट गर्दै भानुगृहको संरक्षण हुन नसक्नु दुःखद भएको लेख्नुभएको थियो । उहाँले लेख्नुभएको छ, ‘नेपाली साहित्यका आदिकवि एवं राष्ट्रिय विभूति भानुभक्त आचार्य जन्मेकै घरको जग हो यो । यो तीर्थस्थल हो कविहरूको र अन्तरराष्ट्रिय रूपमा नेपालीले देखाउने ठूलो सङ्ग्रहालय पनि हो । कसैलाई केही भन्ने ताकत त मसँग छैन तर यत्ति भन्छु–भाषणै भाषणले थिलोथिलो भएको देशको नाम नेपाल हो ।’

उहाँले भनेजस्तै भानुगृह निर्माण गर्ने भनेर भाषणमा भनिए पनि निर्माणको काम शुरु हुन सकेको छैन । पश्चिमाञ्चल विकास मञ्चले भानुगृहको पुनःनिर्माणका लागि शिलान्याससमेत गरेको थियो । विसं २०७३ साल चैत २२ गते ‘भानु शिखर कटेरी’ को तत्कालीन मुख्य सचिव डा सोमलाल सुवेदी, पूर्व मुख्य सचिव लीलामणि पौडेल र मञ्चका तत्कालीन अध्यक्ष रामकाजी कोनेले शिलान्यास गर्नुभएको थियो ।

भानृगृह करिब रु ६८ लाखको लागतमा निर्माण हुने भनिए पनि निर्माण शुरु नभएको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पुनःनिर्माणको शिलान्यास त भयो तर काम अगाडि बढेन ।’

मञ्चसँग पटक पटक सम्पर्क गर्दा शिखर कटेरी ‘हामीले नै बनाउँछौँ’ भनेर जवाफ आउने गरेको रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीन पटकसम्म त घरको नक्शा परिवर्तन भैसक्यो तर काम किन शुरु भएन बुझ्न सकेका छैनाँै ।’

मञ्चका संस्थापक अध्यक्ष कोनेले खानेपानीको अभाव, बाटाको समस्या र समन्वय अभावका कारण भानुगृहको काम अगाडि बढ्न नसकेको जानकारी दिनुभयो । स्थानीय तहले खानेपानी, बाटो र सुरक्षाको राम्रो प्रबन्ध गराए भने भवन निर्माण तत्कालै शुरु गर्ने योजना रहेको उहाँले बताउनुभयो । ‘शिखर कटेरीसम्म पुग्ने बाटो ग्राभेल मात्रै गर्न सकियो भने पनि काम गर्न सहज हुन्थ्यो’, उहाँले रासससँग भन्नुभयो, ‘जङ्गलको बीचमा भएको कारण असुरक्षाको खतरासमेत उत्तिकै छ ।’

उहाँका अनुसार निर्माण व्यवसायीले सुरक्षाको कारण देखाउँदै काम गर्न मानिरहेका छैनन् । उहाँले भन्नुभयो, ‘जङ्गलै जङ्गलको बीचमा भएकोले सामग्रीहरु हराउने डरसमेत उत्तिकै रहेको छ । त्यहीमाथि भवनको समेत सुरक्षा हुन्न कि भन्ने लागेको छ ।’
कोनेले स्थानीय तहले समेत राम्रो समन्वय नगरिदिएको गुनासो गर्नुभयो । उहाँले बाटो र सुरक्षाको प्रबन्धका लागि स्थानीय तहलाई समेत पटक पटक आग्रह गरिए पनि कुनै सम्बोधन नभएको बताउनुभयो ।

नेपाली साहित्यका धरोहर आदिकविको योगदानलाई सरकारले समेत चिन्न नसकेको उहाँको गुनासो छ । ‘साहित्यिक तीर्थस्थल बन्न सक्ने यस ठाउँको विकासका लागि सङ्घीय सरकारले समेत बजेट विनियोजन गर्न सकिरहेको छैन’, उहाँले भन्नुभयो । उहाँका अनुसार भवन निर्माणका लागि बजेटको अभाव भने रहँदैन । मञ्चका संस्थापक पूर्वमहासचिव तथा भानुघर निर्माणका लागि मञ्चका समन्वयकर्ता धर्मराज बराल भवन बनाउन रु पाँच सात लाख जुटिसकेको जानकारी दिँदै चालु आवमा पनि काम नभएमा आगामी आवमा आफूले समन्वय गरेर भवन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मञ्चका संरक्षक सदस्य बरालले नेपाल सरकारले नै यसमा ध्यान दिएर भानुघर बनाउनुपर्नेमा जोड दिनुभयो ।

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका उपाध्यक्ष सङ्गम सापकोटाले भानुको घर पुनःनिर्माण नहुनु साहित्य क्षेत्रलाई बेवास्ता गर्नुसरह भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भारतको दार्जिलिङमा भानुभक्तको ठूलो सम्मान छ तर आफ्नै देशभित्र उहाँको सम्मान हुन सकेन ।’ भानुभक्तको जन्मघर पुग्नुभएका घिरिङ गाउँपालिका वडा नं १ अत्रौलीका रोमाकान्त पोख्रेलले भानुगृह खण्डहर अवस्थामा देख्दा नमज्जा लागेको बताउनुभयो । उहाँले नेपाली भाषाबाट राष्ट्रिय एकीकरण गर्ने भानुभक्तलाई राज्यले चिन्न नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वले चिनेको भानुभक्तलाई नेपालले चिन्न नसक्नु दुःखद हो ।’ स्थानीय तहको एकल प्रयासले मात्रै भानुगृह पुनःनिर्माण गर्न नसकिने भएकाले यसमा सङ्घीय र प्रदेश सरकारको सहयोग हुनुपर्ने सोही वडाका अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताउनुभयो ।

विसं २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर रु एक लाखमा पुनःनिर्माण गर्नुभएको थियो । जङ्गलबीचको खरको छानाको घरमा विसं २०६१ जेठमा आगलागी भएको थियो जसमा करीब रु १ लाख २७ हजार रुपैयाँको क्षति भएको थियो ।

साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले मञ्चले गुरुयोजनासमेत बनाएको थियो । गुरुयोजनानुसार भानुभक्तको घर दुई तलाको हुनेछ । दश रोपनी क्षेत्रफलमा फैलिएको जग्ग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, घरबास धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारी लगायतका पूर्वाधार निर्माण गर्ने लक्ष्य छ । भानुघरको स्वामित्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थानीय तहमातहत रहने भनी परिपत्र गरेकामा शिखर कटेरी रहेको भानु नगरपालिकाले भने सङ्घीय सरकारले नै लिनुपर्ने भनी ध्यानाकर्षण गराइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *