बालबालिकामा आँखाका समस्याहरू हुनसक्छन् । ती समस्याबारे अभिभावकले समयमै ख्याल नगरे बालबालिकाले आँखाको ज्योति नै गुमाउन पनि सक्छन् । त्यसैले बालबालिकाको आँखामा समस्या देखा परेमा ती समस्याबारे जानकारी र समाधानका उपायबारे थाहा पाउनु आवश्यक छ । आँखाको समस्या र समाधानबारे जानकारी पाउनको लागि पढ्नुहोस् केही उपाय

जन्मजात आँखा पाक्ने

कहिलेकाहीं बालबालिका जन्मने बित्तिकै पनि आँखा पाक्ने रोग लागेर आँखाको ढकनी सुन्निने र आँखामा बाक्लो कचेराले भरिने गर्दछ। यस्तो अवस्थामा तुरुन्तै उपचार गरिएन भने आँखाको कालो नानीमा फुलो परि अन्धो बनाइदिन्छ ।

यदि बच्चाको बाबु-आमालाई यौन रोग लागेको छ भने पनि बच्चा जन्मिदा बित्तिकै पनि यस्तो समस्या देखिन सक्छ । तसर्थ बच्चाको आँखाको उपचारका साथै बाबु-आमाले पनि यौन रोगको उपचार गर्न बिर्सनु हुँदैन ।

रतन्धो
रतन्धो पनि एक किसिमको बालबालिकामा देखिने समस्या हो । रतन्धोको कारणले आँखामा सुख्खापना आई कालो नानीमा घाउ हुने र पछि फुलो बसी सधैँका लागि आँखा नदेख्ने हुन सक्छ ।

तसर्थ रतन्धो भएका बालबालिकाहरूलाई प्रशस्त मात्रामा भिटामिन ‘ए’ भएका खानेकुराहरू ख्वाउनु पर्छ। आँखामा हुने सुख्खापन भए नभएबारे थाहा पाउनका लागि नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गई परीक्षण गराउनु पर्दछ। समयमै उपचार गराए रतन्धो हुनबाट बचाउन सकिन्छ ।

अल्छि आँखा तथा उज्यालो चिन्न नसक्नु

यदि बालबालिमा ३ वर्ष वा त्योभन्दा अगावै देखिने अल्छि आँखा तथा बत्ती तथा औँलाहरूको गति (‍औँला हल्लाएको) देख्न सके नसकेको ख्याल गर्नुपर्छ । यदि माथि उल्लेख गरिएका समस्याहरू देखिएमा उपचारका लागि पहल गरिहाल्नु पर्दछ ।

जन्मजात मोतिबिन्दु

बालबालिकामा हुने मोतिबिन्दुको समयमा नै अप्रेसन गराउनु पर्छ । कुनैकुनै बालबालिका जन्मिदा बित्तिकै पनि उनीहरूको आँखामा मोतिबिन्दु देखिन सक्छ । गर्भवती आमालाई रुबेल्ला नामक भाइरसको संक्रमण भएको छ भने त्यसको असर जन्मने बच्चाको आँखामा पनि पर्न सक्छ।

यसको असरले बच्चाको आँखामा मोतिबिन्दु हुन्छ । यस्तो अवस्थामा बच्चाले उज्यालो प्रकाश ठम्याउन नसक्ने हुन्छ । जन्मजात हुने मोतिबिन्दु अलि असामान्य तथा जटिल हुने भएकोले यसलाई समयमै उपचार गराउनु पर्दछ ।

जलबिन्दु
कुनै कुने बाल बालिकाको आँखा सामान्यभन्दा ठूलो देखिनुका साथै आँखामा पानी आइरहनु र घाममा हेर्न गाहृो हुने अवस्था छ भने त्यो बच्चामा देखिने जलबिन्दु हुनसक्छ । यस्तो अवस्थामा उनीहरूको आँखाको ज्योति पनि कमजोर हुन सक्छ तसर्थ बालबालिकामा माथि उललेखित समस्थाहरू देखिएमा समयमै उपचार गराउनु पर्दछ ।

दृष्टि दोष (चश्माको पावर कम हुने समस्या)

बालबालिकाले टाढालगायत नजिकको किताबका अक्षरसमेत देख्न नसक्छने अवस्थालाई दृष्टि दोष भनिन्छ। आँखाको देख्न सक्ने क्षमता (दृष्टि) को परीक्षणका लागि आँखा उपचार केन्द्र तथा आँखा अस्पतालमा लैजानु पर्दछ।

डेढो आँखा

डेढो आँखा सोझो हुन सक्छ र दृष्टि पनि बचाउन सकिन्छ । कुनैकुनै बालबालिकाको एउटा वा दुबै आँखा डेढो हुन सक्छ । डेढो आँखा भएका बालबालिकाको दृष्टि कमजोर पनि हुन सक्छ र पछि गएर दृष्टिमा सुधार नहुन पनि सक्छ । त्यसैले उनीहरूको आँखा डेढो भए नभएको ख्याल गर्नु पर्छ र यदि उस्तो समस्या भएको पाइएमा समयमै परीक्षण गराई उपचार गराउनु पर्दछ।

गर्मीयाममा आँखा रातो भई चिलाउने

कुनै कुनै बालबालिकाको गर्मियाममा मात्र आँखा बढी रातो हुन, चिलाउने तथा घाममा हेर्न अफ्ठयारो हुने जस्ता समस्या देखिन सक्छ । यदि त्यस्तो समस्या देखिएमा जथाभावी औषधिको प्रयोग नगरी नजिकको आँखा उपचार केन्द्र तथा आँखा अस्पतालमा गइ उपचार तथा सल्लाह लिनु पर्दछ ।

ट्रकोमा

अन्धो बनाउने आँखाका रोगहरू मध्य ट्रकोमा पनि एक हो र जसले सबैभन्दा पहिला बालबालिकालाई असर गर्ने गर्छ । बालबालिकाबाट अन्यमा सर्ने गर्दछ । यदिे यो रोगका बारेमा बालबालिकालाई सचेत गराई व्यक्तिगत तथा वातावरणीय सरसफाई (विषेशत दिनमा कम्तिमा तीन पटक सफा पानीले मुख धुने बानी बसाल्नलाई जोड दिने) का बारेमा जानकारी दिनु पर्दछ । लामो समयसम्म हल्का आँखा रातो भइ पाकिरहेमा तुरुन्त आँखा उपचार केन्द्र तथा आँखा अस्पतालमा गइ उपचार गराउनु पर्दछ,

चोटपटक तथा आँखामा कसिंगर तथा अन्य चिज पर्नु

कहिले काहीं बालबालिकाको आँखामा खेल खेल्दा तथा अरु बेलामा चोटपटक लाग्न सक्छ त्यस्तै आँखामा कसिंगर तथा अन्य चिज पर्न सक्छ । यस्तो बेलामा उनिहरूलाई आँखा मिच्न दिनु हुदैन र आँखामा जथाभावी औषधि तथा जडीबुटी हाल्नु हुदैन । जथाभावी औषधि तथा जडीबुटीको प्रयोगले उनीहरूको आँखाको ज्योति सधैँको लागि गुम्न सक्छ ।

यस्तो अवस्थामा जतिसक्दो चांडो आँखा उपचार केन्द्र तथा आँखा अस्पतालमा लैजानु पर्दछ । त्यसैगरि उनिहरूको आँखामा चोटपटक लाग्न नदिन संधै सजग रहनुका साथै उनिहरूलाई यसबारेमा समेत सचेत गराउनु पर्दछ ।

बालबालिकाको आँखा स्वस्थ राख्न अभिभावकले ध्यान दिनुपर्ने कुराहरू :

बाल अन्धोपनबाट बच्न बालबालिकाको आँखा समय समयमा देखाउनै पर्ने भएता पनि प्राय विद्यालय जाने बालबालिाकाको आँखा भने कम्तीमा वर्षको एक पटक परीक्षण गराउनु पर्दछ ।

चश्मा लगाउने बालबालिकाको हकमा भने देख्ने शक्ति परिवर्तन भए नभएको थाहा पाउनका लागि प्रत्येक ६/६ महिनामा नेत्र विशेषज्ञ वा चश्मासम्बन्धी प्राविधिकसँग परीक्षण गराउनु पर्दछ ।

कुनै पनि विस्तृत रूपको आँखा परीक्षणबिना आँखामा लाग्ने रोग तथा अवस्थाका बारेमा थाहा पाउन कठिन भएता पनि आँखामा समस्या भएका बालबालिकाको आँखामा देखिने लक्षण/चिन्ह र उनीहरूले देखाउने हाउभाउ एवं शारीरिक संकेतका आधारमा पनि उनीहरूको समस्याका बारेमा अनुमान लगान सकिन्छ । ती संकेत :

आँखाका भागहरूमा देखिने परिवर्तनहरू

एक तथा दुबै आँखाको ढकनीहरू पूर्ण तथा आंशिक रुपमा बन्द भइरहने

एक अथवा दुबै आँखाको भित्र पुतलीको रङ सेतो तथा फुस्रो देखिने

एक अथवा दुबै आँखामा बढी मात्रामा आंसु बगिरहने

उज्यालो प्रकाश तथा बत्तीमा हेर्दा गाह्रो हुने

आँखाको वरिपरि तथा भित्रि भागमा लगातार रातोपना देखिइरहने

आँखा सुन्निने तथा चिप्रा लागिरहने

व्यवहारिक संकेतहरू

बारम्बार आँखा मिचिरहनु

टेलिभिजन हेर्दा धेरै नजिकबाट हेर्ने,

नजिकको अक्षर पढदा अति नजिक टाँसिएर पढने

नजिकको वस्तु हेर्दा आँखा टेढो बनाएर हेर्ने

कुनै वस्तु राम्रो स्पष्ट नदिेखिएसम्म टाउको बंग्याएर हेर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *