काठमाडौं : वसन्तपुर गद्दी बैठकमुन्तिर रहेका सुनका सिंहासन सर्वसाधारणले कहिले अवलोकन गर्न पाउने हुन्? यो प्रश्न धेरै समयदेखि अनुत्तरित छ।

केही दिनअघि मात्रै बैठकसँगै जोडिएको फरासखानामा रहेका यी सिंहासन वसन्तपुर गद्दी बैठक मुन्तिर सारिएको छ। यी सिंहासन अभिलेख अनुसार पाटन दिगु तलेजु आगम छेँ र दिगु तलेजु गुठीबाट प्राप्त भएका हुन्। यहाँ सुनैको ढाल र सुनैको तरबार पनि छ। सुनको ढाल र तरबार महांकाल भैरवबाट प्राप्त भएको अभिलेख छ।

केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार यी सिंहाशन, ढाल तरवारलाई सङ्ग्रहालय बनाएर प्रदर्शन गर्ने योजना छ तर सङ्ग्रहालय बनाउने स्थान नपाएर यी समान उहिल्यैदेखि यस्तै अवस्थामा रहेका छन्।

वि.सं. २०४७ मा गठित सरकारी समितिले यी सामग्रीसहित सुनको शंख र मल्ल, शाह र राणाकालीन असर्फीलाई संग्रहालयमार्फत प्रदर्शन गर्नु उपयुक्त हुन्छ भन्ने लिखित राय दिएको थियो। पाटन दिगु तलेजु आगम छेँबाट आएका यी सिंहाशन पाटनका राजा योगनरेन्द्र मल्लको हुन सक्ने अनुमान जानकारको छ ।

‘मेरो सालिकबाट चरा नउडुन्जेल म जिउँदै रहन्छु’ भनेर पाटन दरवारमा शिरमाथि पित्तलको चरा सहितको सालिक राख्न लगाएका राजा योगनरेन्द्रलाई राजा महेन्द्रको पालासम्म पाटन दरवारमा उनको ओछ्यान मिलाउने र आशन अगाडि तमाखु भरेर राखिदिनेसम्म व्यवस्था रहेको स्थानीय ज्येष्ठ नागरिक मचाभाइ महर्जन संस्मरण गर्छन्।

शाहकालको अन्त्यपछि शाही परिवारले प्रयोग गर्दै आएको किसिम किसिमका सुनको सिंहाशन सरकारले विभिन्न सङ्ग्रहालयमार्फत् सार्वजनिक गरिरहेको छ। ‘यी ५४ सिंहासन भने आम नागरिकले कहिले अवलोकन गर्न पाउने भन्ने सर्वत्र जिज्ञासा छ’, महर्जनले बताए। यो समाचार आजको गोरखापत्रमा सरोज आचार्यले लेखेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *