बाँके : तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई केन्द्र बनाएर आठौँ राष्ट्रिय खेलकूद चलिरहेको छ ।

खेलकूदको रौनकले बेग्लै रङ लिएर देशको वातावरणलाई तरङ्गित तुल्याइरहेको छ । खेलाडी खेलिरहेका छन्, प्रशिक्षक खेलाइरहेका छन्, आयोजक खेल महोत्सव आयोजनामा रमाइरहेका छन् र दर्शक जता मन लाग्यो उतैतिर आफूलाई पुर्‍याइरहेका छन् ।

परिवेश खेलकूदमय छ, कतै फुटबल, कतै क्रिकेट, कतै जुडो, कराँते, तेक्वान्दो वा उसु, कतै भलिबल धेरै खेल उमेरअनुसार पनि खेल्ने गरिन्छ । तर प्रदेश प्रहरी तालीम केन्द्र नेपालगञ्जमा चलिरहेको आर्चरी प्रतियोगिताभित्रको रहस्य भने अलि फरक छ ।

जहाँ १२ वर्षीय अनुष्का शेरचनदेखि ७० वर्षीय रामप्रसाद राईले खेलिरहेका छन् । पोखरा महानगरपालिका–४ रानीपौवाकी अनुष्का कक्षा ७ मा भर्खरै उत्तीर्ण भएकी छन् । उनी आठ प्रतिस्पर्धीलाई उछिन्दै राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी हुन् । त्यसो त उनको परिवार नै खेल क्षेत्रमा कतै न कतै आबद्ध छ । बुबा योगेन्द्र शेरचन आर्चरी खेलकै प्रशिक्षक हुन् । योगेन्द्रले धेरै पटक ओलम्पिकमा टिम प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् भने फुपु शान्ति शेरचन पाँचौँ राष्ट्रिय खेलकूदमा स्वर्ण पदक विजेता तथा ११ औँ ओलम्पिककी उच्च स्कोरर हुन् ।

उनका दाजू अनिप शेरचन पनि आर्चरी तथा कराँतेका खेलाडी हुन् । यही पारिवारिक पृष्ठभूमिबाट आएकी अनुष्का १० वर्षको उमेरदेखि नै आर्चरी खेलतर्फ मोडिइन् । १२ वर्षको कलिलो उमेरमै राष्ट्रिय खेलकूदमा भाग लिने अवसर पाइन् । आफूभन्दा अग्रज र खारिएका खेलाडीसँग अनुष्काले प्रतिस्पर्धा गरिरहेकी छन् । छयानब्बे प्रतिस्पर्धीका बीचमा एउटा बालिकाले तीर प्रहार गरिरहँदा दर्शकले अचम्म मान्दै चासोका साथ हेरिरहन्छन् । आफूभन्दा निकै अग्रजसँग प्रतिस्पर्धा उनका लागि चुनौतीपूर्ण छ ।

उनी भन्छिन्, ‘खेल जितिहाल्छु भन्ने त लागेको छैन । तर आफूभन्दा योग्य, अग्रज र अनुभवी खेलाडीसँग खेल्न पाउँदा धेरै कुराहरु सिक्ने अवसर पाइरहेकी छु ।’ आर्चरीमै ओलम्पियन बन्ने उनको धोको छ । ‘१३ औँ सागमा पनि भाग लिन्छु’, अनुष्का भन्छिन्, ‘आर्चरी मेरो जीवन भइसक्यो । आर्चरीमै रमाउँछु ।’

अनुष्का प्रतिस्पर्धीमध्येकी सबैभन्दा कान्छी हुन् । तर त्यही प्रतियोगितामा ७० वर्षीय रामप्रसाद राईले पनि भाग लिएका छन् । विसं २००६ मा जन्मिएका उनी विसं २०१८ मा बेलायती सेनामा भर्ना भए । त्यहाँ रहँदा उनले अन्य खेलहरु खेले पनि आर्चरी भने कहिल्यै खेलेनन् ।

विसं २०५६ मा बेलायती सेनाबाट अवकास पाएका राई त्यसपछि विभिन्न समाजिक सङ्घसंस्थामा क्रियाशील रहे । बुढ्यौलीले छोप्दै जाँदा आफूलाई स्वस्थ राख्न कुनै खेल खेल्नुपर्छ भन्ने सोचेर उनी आर्चरी खेल खेल्न थाले । उनी भन्छन्, ‘यसमा अन्य खेलजस्तो दौडधुप गर्नुपर्दैन ।’

छ वर्षदेखि नियमितरुपमा आर्चरी खेलिरहेका राईले सातौँ राष्ट्रिय खेलकूदमा देशभरबाट पाचौँ स्थान हासिल गरेको सुनाउँदै भने, ‘बुढेसकालमा सहजै खेल्न सकिने भएकै कारण मैले यो खेल खेलिरहेको छु । मलाई १३ औँ सागमा पनि भाग लिने धोको छ ।’

नेपाल आर्चरी सङ्घका अध्यक्ष दीपकराज गुरुङ यो खेलमा उमेरको कुनै हद नहुने बताउँछन् । उनले भने, ‘आर्चरीलाई थप व्यावसायिक बनाउँदै र खेलाडीलाई खेलप्रतिको जिम्मेवारी बढाएर पदक भित्र्याउन हामी लागि परेका छौँ ।’

सङ्घले सबै प्रदेशमा खेलाडी उत्पादन गर्ने योजना बनाएको गुरुङको भनाइ छ । ‘आर्चरी खेलको प्रवद्र्धन र विकासका लागि खेलमा देखिएको सहभागिताले हामीलाई थप उत्साहित बनाएको छ । बालिकादेखि वृद्धसम्मको उपस्थिति झनै महत्वपूर्ण छ । हामीलाई यसले थप हौसला दिएको छ ।’

उनले बालिकादेखि वृद्धसम्मको सहभागिताले अन्य खेलाडीको मनोबल पनि बढाएको बताए । उनी भन्छन्, ‘यहाँको सहभागिताले खेलाडीमा उत्साह बढाएको छ ।’ नेपालमा आर्चरीको शुरुआत विसं २०४४ देखि नै भए पनि भर्खरैमात्र गति लिन थालेको हो ।

खेल्ने ठाउँको अभाव, प्राविधिक जनशक्तिको अभाव, राज्यको न्यून लगानी आदि कारण नेपालले प्रशस्त सम्भावना भए पनि सम्भावित सफलता निकाल्न नसकेको अध्यक्ष गुरुङको भनाइ छ । उनले भने, ‘विगतको नेतृत्वले चासो दिएन, अहिले बामे सर्ने अवस्थामा आएको छ ।’

निजी पोखरीमा पौडी प्रतियोगिता

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आजदेखि हुने ‘स्वीमिङ’ खेल निजी पौडी पोखरीमा हुने भएको छ । नेपालगञ्ज रङ्गशाला परिसरमा निर्माणाधीन स्वीमिङ पुल तयार नभएपछि होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा हुने भएको छ । प्रदेश खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम वलीले शुरुआती चरणका खेलहरु होटल सिग्नेट इन कृष्णाको पौडी पोखरीमा गरिने बताए ।

उनले भने, ‘यहाँ हामीले आजैदेखि पानी भर्न शुरु गर्दैछौँ, शुरुआती चरणका खेलहरु कृष्णाको पौडी पोखरीमा हुनेछन् ।’ अध्यक्ष वलीका अनुसार फाइनल खेल आफ्नै पौडी पोखरीमा सञ्चालन हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाको व्यवस्थापनमा खानेपानी संस्थानले पौडी पोखरीको प्राविधिक जिम्मा लिएको उनले बताए । उनले पानी भर्ने काम बाँकी रहेकाले शुरुआती चरणका खेलबाहिर गर्न लागिएको बताए ।

हालसम्म पोखरी निर्माणमा १५ करोड रकम खर्च भइसकेको छ । निर्माणाधीन स्वीमिङ पुलमा प्रतियोगिता सञ्चालन गर्न नसकिएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्य बताउँछन् । उनले भने, ‘प्रतियोगिताका लागि ठाउँ भइसकेको छ । पौडी पोखरी २५ मिटरको हुनुपर्ने मापदण्डअनुसार होटल सिग्नेटको पौडी पोखरी छनौट गरेका छौँ, आजदेखि खेल सञ्चालन हुनेछन् ।’

निर्माणको जिम्मा लिएको निकाय र प्रतियोगिता आयोजकको ढिलासुस्ती र लापरवाहीले पूर्वाधार समयमै नबनेको उनको भनाइ छ । नौ वर्षअघि शिलान्यास भएको पौडी पोखरी तत्कालीन राष्ट्रिय खेलकूद परिषद्को सदस्य सचिव युवराज लामाका पालामा निर्माण कार्य शुरु गरिएको थियो ।

बाँके जिल्ला पौडी सङ्घ अध्यक्ष गोबद्र्धन सिंह सम्झनाले राखेपको लापरवाहीका कारण समयमै पोखरी निर्माणको काम नसकिएको बताउनुभयो । उनले भने, ‘जब प्रतियोगिता नजिकिन्छ अनि हतारमा काम गर्ने नेपालीको चलन नै भइसक्यो । राखेपकै लापारवाहीका कारण समयमै पौडी पोखरी बन्न नसकेको हो ।’

प्रतियोगिताका लागि पौडी पोखरी निर्माण सम्पन्न गर्न लापारवाही गरी प्रतियोगिता निजी होटलमा गर्ने तयारी गरिएको भन्दै नागरिकले राखेपको आलोचना गरेका छन् । ‘नौ वर्षसम्म के हेरेर बसेका थिए, खेल पदाधिकारीहरु रु’ नेपालगञ्ज–१९ का श्याम गिरीले भन्नुभयो, ‘आठौँ होइन पहिले नै तयार हुनुपर्ने पोखरी निर्माणमा लापारवाही भयो । एक वर्षअघि खनेको पोखरीमा भ्यागुताले खेले । अहिले निजी पोखरीमा प्रतियोगिता गराउनुपर्ने अवस्था आयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *