ओखरमा सामान्यतः दुई प्रजाति पाइन्छ । जङ्गली र कृषिजन्य ओखर । जङ्गली ओखर १०० देखि २०० फिटसम्म अग्लो हुन्छ । यो जङ्गलमा प्राकृतिक रूपमा आफैँ उम्रिन्छ र यसको फलको बोक्रा साह्रो हुन्छ । कृषिजन्य ओखरको बोट भने ४० देखि ९० फिटसम्म अग्लो हुन्छ ।

यसको अङ्ग्रेजी नाम वाल्नट र वैज्ञानिक नाम जेगलस रेगिया, संस्कृतमा अक्षोट, अक्षोड, अखिमा जौज र नेपालीमा ओखर भनिए पनि स्थान र प्रदेशअनुसार विभिन्न नाम छन् । यसको रूख निकै सुन्दर, मखमली पात, पातको सङ्ख्या पाँचदेखि १३ र तीनदेखि आठ इन्चसम्म लामो, दुई देखि चार इन्च चौडा, अण्डाकारका हुन्छन् । बाहिर निकै कडा हुने यसको भित्री भागमा खानयोग्य पोषिलो फल सुरक्षित रहन्छ । ओखरमा बढी मात्रामा तेल पाइन्छ ।

ओखर वसन्त ऋतुमा फुल्ने र शरद ऋतुमा यसको फल तयार हुन्छ । यसको तेलमा जुगलैडिक एसिड तथा रेजिनका अतिरिक्त फलमा आकजैलिक एसिड पनि पाइन्छ । यपजबच

ओखर शरीरको सौन्दर्यका लागि निकै लाभदायक छ । यसमा बढी मात्रामा क्यालोरी पाइने भएकाले सम्पूर्ण आहार हो । राम्रो स्वास्थ्यको लागि भिटामिन, खनिज, बोसो, कार्बोहाइड्रेटसको आवश्यकता पर्छ । यी सबैको सन्तुलित मात्रा एउटै फल ओखरमा पाइन्छ । ओखरमा प्रोटिनको अतिरिक्त क्याल्सियम, म्यागनेसियम, फलाम, फसफोरस, सेलेनियमजस्ता पोषक तत्त्व पाइन्छ ।

यी तत्त्वले कपाल र छालालाई लाभ पुर्‍याउँछ । यसमा रहेको ओमेगा–३ फैटी एसिडले शरीरमा हुने दम, अर्थराइटिस, एक्जिमा र सोरासिस रोगबाट बचाउँछ ।ओखरको उपयोग सुप, चक्लेट, कुकिज, मिल्कसेक, लड्डुजस्ता परिकार बनाउन काम लाग्छ । विशेषगरी जाडोमा खानाले स्वास्थ्यमा सुधार आउनुको साथै रोग प्रतिरोधक क्षमतामा वृद्धि हुन जान्छ । ओखरमा पाइने भिटामिन ‘सी’ ले गर्दा शरीरमा ग्लुटाथियोन उत्पादन गर्नमा मद्दत गर्छ । जसले गर्दा मिर्गौलामा रहेको विषयुक्त पदार्थ बाहिर आउँछ ।

एक अध्ययनअनुसार– मधुमेह र मुटुरोग नै मिर्गौला रोगको मुख्य कारक मानिएको छ । मिर्गौला स्वस्थ राख्न बेलैमा ध्यान पुर्‍याउन आवश्यक छ । उच्च रक्तचाप भएको मानिसलाई रक्तचाप नियन्त्रण गर्न ओखरले सहायता पुर्‍याउँछ । ओखरमा रहेको बोसो र पौष्टिक तत्त्वले शरीरमा इन्सुलिनको मात्रा सन्तुलित राख्नमा सहायक भूमिका खेल्छ ।

ओखरमा बढी मात्रामा फाइबर पाइन्छ, जसले मानिसको बढी भोक लाग्ने प्रक्रियामा नियन्त्रण गर्छ । शरीरमा तौल बढ्न कमी आउँछ । यसमा उपलब्ध फाइबरले पेटमा हुने समस्या कब्जियत र एसिडिटी नियन्त्रण गर्छ । क्याल्सियमले हड्डी बलियो बनाउन सहयोग गर्छ । क्याल्सियम ओखरमा सहज रूपमा पाइन्छ । ओखरको तेलले कपाल लामो, बाक्लो, कालो र चम्किलो बनाउँछ भने छाला नरम र स्वस्थ राख्छ ।

ओखरमा प्रति १०० ग्राममा पाइने तत्त्वको हिसाक गर्दा प्रोटिन ०.७ ग्राम, कार्बोहाइड्रेट १३.७१ ग्राम, भिटामिन ‘ए’ २० ग्राम आईयु, भिटामिन ‘सी’ १३ आईयु, थियामिन ०.३४ आईयु, भिटामिन बी–६ ०.५३७ आईयु, सोडियम २०.० आईयु, मैगनेसियम १५८ आईयु, मैगनिज ३.४१४ आईयु, पोटासियम ४४१ आईयु, फसफोरस ३४६ आईयु र जस्ता ३.०९ ग्राम पाइन्छ । स्तनपान गराउने आमाले ओखरलाई गाईको ध्युमा भुटेर खानाले बालकले बढी मात्रामा दूध प्राप्त गर्छन् ।

बिहान खालीपेटमा ओखर खाँदा उपयुक्त हुन्छ । खालीपेटमा खाँदा यसमा भएका सबै पोषक तत्त्व शरीरमा गएर लाभ पुर्‍याउँछ र शरीर सबल बनाउँछ ।

यो लेख  गणेशकुमार लालले गोरखापत्र दैनिकमा लेखेका हुन्। लेखक लाल, नेपाल गुणस्तर तथा नापतौल विभाग भूपूकेमिस्ट हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *