• हरि बाँस्तोला    

पोखरा : ऐतिहासिक, धार्मिक एवं पुरातात्विक महत्व बोकेको गडहरे गुफा यतिखेर प्रवद्र्धनको पर्खाइमा रहेको छ । स्याङजा जिल्लाको भीरकोट नगरपालिका वडा नं ९ ठूली भञ्ज्याङमा जमीनको सतहबाट लगभग १०० मिटरको गहिराइमा रहेको यो गुफाको प्रवेश द्वार छ तर, अन्त्य कहाँ हुन्छ भन्ने अझै पत्ता लागेको छैन ।

तीन दशक अघि चर्दै गरेको एउटा गाई अचानक खोलामा खसेपछि उद्धारका लागि गाउँले प्वालबाट प्रवेश गर्दा गुफा पत्ता लागेको स्थानीय बासिन्दा एकै स्वरमा बताउँछन् ।

यसअघि पनि दाउरा काट्ने क्रममा बञ्चरो खसेको र खोज्न जाँदा अचम्मको गुफा भेटिएको चर्चा एक व्यक्तिले निकै नै गर्ने गरेको तिनीहरु स्मरण गर्छन् ।

गुफाको अवलोकन र अनुसन्धान गर्न बिहान ९.०० बजे प्रवेश गरेका स्थानीय बासिन्दाहरुले अपराह्न ५.०० बजेसम्म भित्र कहिले सुतेर र कहिले सिघै हिँडेर गुफालाई नियालेको अनुभव सुनाए । गुफाभित्र आठ घण्टा बिताउँदा पनि छेउ पत्ता लगाउन नसकिएको टोलीको नेतृत्व गर्नुभएका स्थानीय जनप्रतिनिधि भीम गुरुङले राससलाई बताउनुभयो । उहाँका अनुसार प्रवेश गर्ने बित्तिकै शुरुमा एउटा सानो ताल देखापर्छ । त्यसको झण्डै १५० र १०० मिटरको फरकमा छुट्टाछुट्टै अन्य दुई वटा ताल भेटिन्छन् ।

गुफाको लगभग ३०० मिटर भित्र पुगेपछि हात्तीका पाइला, चुनबाट बनेको नौ तल्ले धरहरा, गाईको थुनले शिवलिङ्गमा दूधको धारा दिएको जस्ता विभिन्न आकृति स्पष्टसँग देख्न सकिन्छ ।

त्यसलगत्तै करीब ४०० जना अट्नसक्ने फराकिलो मैदान देखापर्ने उल्लेख गर्दै गुरुङले भन्नुभयो – “गुफा भित्र विभिन्न देवदेवीका मूर्तिसहित मनोरम एवम् अलौकिक दृश्य देख्न सकिन्छ ।”

करीव २०० मिटर भित्र पुगेपछि चमेराका झुण्ड देखापर्छ । हाँले जति नै गुफा भित्र गए पनि अक्सिजनको अभाव भने नखट्किएको अनुभव उहाँले सुनाउनुभयो । “गुफामा प्रवेश गर्न अप्ठेरो थियो, प्रवेश द्वारसम्म पुग्न एउटा आठ मिटरको ढलान पुल र अर्को १६ मिटर लम्बाइको फलामे भ¥याङ निर्माण गरिएका कारण केही हदसम्म भए पनि सहज भएको छ,” भीरकोट नगरपालिका वडा नं ९ का अध्यक्ष तनबहादुर गुरुङले भन्नुभयो ।

उहाँले थप्नुभयो – “तीस वर्ष अघि गाई गडहरे खोलाले बगाएर भित्र लग्यो । सबै गाउँले जम्मा भएर उद्धारका लागि झाडी पन्छाउँदै सानो प्वालबाट भित्र पस्यौं । धेरै भित्र एउटा खुट्टो भाँचिएको अवस्थामा गाई भेटियो तर, उचित उद्धार गर्न सकिएन । त्यही समयदेखि नै गुफा छ भन्ने पत्ता लागेको हो ।”

मोबाइलको प्रकाशको भरमा अवलोकनका लागि २०७६ वैशाख १ गते नव वर्षका दिन स्थानीय चार किशोर गुफाभित्र पसे । उनीहरुका अनुसार हिँड्न बाटो अप्ठेर भए पनि भित्र जाँदै गर्दा रोमाञ्चको अनुभव हुन्छ । करीव ३ घण्टासम्म भित्र बसेर हिलाम्मे भएर बाहिर निस्केका १३ वर्षीय सुजल गुरुङ र सत्य गुरुङ तथा १२ वर्षीय भुपाल गुरुङ र तोरण गुरुङले गुफाभित्र भित्तामा एक ठाउँमा ‘जनयुद्ध जिन्दावाद’ लेखिएको भेटिएको पनि जानकारी दिए । उक्त लेखनले गुफालाई तत्कालीन माओवादीले आश्रय स्थलको रुपमा प्रयोग गरेको बुझ्न सकिन्छ ।

ओकादी गाउँको तल्लो भागबाट बगेको गडहरे खोला करीव १५० मिटर दूरीसम्म भूमिगत र बीच भागमा गुफा छ । अन्तिम भागमा पुगेर खुल्ला भएको खोलाको पानीबाट छरछरे झरना देख्न सकिन्छ । सोही खोलाको नाउँबाटै गुफाको नामकरण गरिएको हो ।

समुद्री सतहबाट एक हजार ५०० मिटरको उचाइमा अवस्थित हजारौं वर्ष पुरानो यस गुफाको प्रवद्र्धनका लागि आवश्यक पहल गरिने भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनालले बताउनुभयो ।

सम्भाव्यता अध्ययन एवं अवलोकनका लागि उक्त स्थानमा पुग्नुभएका उहाँले प्रकृतिले दिएको अपार वरदानको भौगोलिक अवस्थाबारे बुझ्न पुरातत्व विभागसँग अनुरोध गरिने बताउनुभयो ।

भूगर्भविद्सहितको टोलीको प्रतिवेदनका आधारमा गुरुयोजना निर्माण गरी गुफाको प्रवद्र्धन गर्ने तयारी भइरहेको छ भने गुफाको विकासका लागि नगरपालिकाले आवश्यक बजेटको व्यवस्था गरिदिने प्रतिवद्धता जनाएको छ ।

नगरपालिकाको वडा नं ८ र ९ को बीच एवं काउँले डाँडा सामुदायिक वन क्षेत्र नजीक अवस्थित यस गुफा आसपासका जग्गा खरिद गरिने जानकारी दिँदै नगर प्रमुख खनालले सडक, पार्क, पार्किङ, रेष्टुराँ जस्ता आगन्तुक पर्यटकका लागि आवश्यक भौतिक संरचना तयार गर्ने योजना अघि सार्नुभयो । उचित प्रचारप्रसार गरेर प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा यसलाई विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको छ । खनालका अनुसार गुफाको व्यवस्थित सञ्चालनका लागि स्थानीय स्तरमा एक समिति गठन गरिने छ । पर्यटकका लागि पथप्रदर्शकको समेत व्यवस्था हुन्छ ।

लामो समयदेखि यसै क्षेत्रमा घाँस दाउरा गर्दै आए पनि गुफा भएको धेरैपछि मात्र थाहा पाएको र पहिलो पटक गुफा प्रवेश गर्दा अचम्म लागेको स्थानीयवासी मनमाया गुरुङले बताउनुभयो ।

भीरकोट नगरपालिका वडा नं ९ ओकादी होमस्टे (घरबास) व्यवस्थापन समितिका सदस्यसमेत रहनुभएकी गुरुङले गुफा र होमस्टेलाई एक अर्काका परिपूरकका रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो । गुफाभित्र बाटो निर्माणका साथै बत्तीको व्यवस्था गरेर आगन्तुक पर्यटकलाई सुविधा पुर्‍याउनु पर्ने उहाँको सुझाव छ ।

उहाँका अनुसार गाउँमा रहेका ५५ घरलाई होमस्टेका रुपमा विकास गर्ने लक्ष्य रहे पनि हाल आठ घरमा सञ्चालन भइआएको छ । गण्डकी प्रदेश सरकारले गुरुङ सङ्ग्रहालय निर्माणका लागि १२ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

होमस्टे व्यवस्थापन समितिका अर्का सदस्य निरमाया गुरुङ होमस्टेमा बास बसेका पाहुनालाई गडहरे गुफा, सङ्घीय सरकारले घोषणा गरेका १०० गन्तव्य मध्येको सोरेक मैदान, प्याराग्लाइडिङसहित स्याङजा भैरबकालीका कोटलगायत यस स्थानमा रहेका पर्यटकीय एवं धार्मिक क्षेत्रको अवलोकन गर्ने व्यवस्था गरिनु पर्ने बताउनुहुन्छ । सिद्धार्थ राजमार्गको बयरघारीदेखि १४ किलोमिटरको दूरीमा रहेको कच्ची मोटरबाटोसँग जोडिएको यस स्थानबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि लगायतका हिमश्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक भ्रमण र सङ्घीय सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी कार्यान्वयनको तयारी गरिरहेको वर्तमान अवस्थामा गडहरे गुफा जस्ता प्रकृति प्रदत्त उपहारलाई भरपूर उपयोग गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिए स्थानीय बासिन्दाको आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *