खेमराज गौतम    


गलकोट : युवावस्थाको धेरै समय पानीको जोहो मै बिताएका अम्मरबहादुर थापालाई घैंटोमा पानी सङ्कलन हुन थालेपछि सुविस्ता भएको छ । जिल्लाको पर्यटकीय गाउँका रुपमा परिचित बागलुङ नगरपालिका वडा नं १० भकुण्डे निवासी ८१ वर्षीय थापाले जीवनमा पानी बोक्नकै लागि धेरै समय खेर फालेको स्मरण गर्नुहुन्छ । राति तीन बजे कुँवाको पानी भर्न एक घण्टा हिँडेर जीवनका आधा उमेर धकेलेका थापालाई २०३३ सालदेखि गाउँमा धारो आएपछि कुँवामा पानी लिन जान परेन ।

“गाउँमा सार्वजनिक धारो त आयो तर, जनसङ्ख्या बढ्दै गयो, पानीको मुहान पनि सुक्दै गयो,” थापाले भन्नुभयो । उहाँका अनुसार साविक भकुण्डे गाविसको वडा नं १, २ र ३ का बासिन्दाका लागि जम्मा ८ वटा सार्वजनिक धारा निर्माण भए । ती धाराको पानीले पुग्ने अवस्था भएन ।

पानीको अभावका कारण कतिले गाउँ नै छोडेर बसाइँ सरी अन्यत्र गएका छन् । एउटा धारोमा आएको पानी २५ घर परिवारलाई पुग्ने कुरै भएन । वर्षाको समय खोल्सा खोल्सीमा मूल फुट्ने भएका कारण समस्या हुँदैन तर, हिँउदको तीन महिना खानेपानीको संकटै पैदा हुने स्थानीयवासीहरु बताउँछन् । मगर समुदायको बाहुल्य रहेको भकुण्डेमा घुम्न आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै जाँदा पानीको माग धान्न वर्षाको पानी सङ्कलन गरी हिउँदमा प्रयोग गर्न २०६७ सालमा गाउँका १२० घरमा घैंटो निर्माण गरिएको थियो । घैंटोमा पानी सङ्कलन गर्न थालिएपछि खानेपानीको गर्जो टार्न सजिलो भएको स्थानीयवासी याम बहादुर थापाले बताउनुभयो ।

कालो हिलटेक मात्र देखेका आगन्तुक पाहुनाले गाउँभरि नै सेतो रङ्गको आधुनिक घैंटो देख्दा आश्चर्यमा पर्ने गरेका छन् । गाउँभरि रहेका पानीका घैंटोले खानेपानीकोे अभावलाई समेत दर्शाइरहेको छ । उच्च भेगमा पर्ने भकुण्डे गाउँमा तत्कालीन पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना (नेवा), भकुण्डे गाउँ विकास समिति भकुण्डे, तत्कालीन संविधानसभा सदस्य रामजीप्रसाद शर्मामार्फत छुट्टिएको संसद विकास कोषको रकम र स्थानीयवासीको सहभागिता गरी झण्डै एक करोड रुपैयाँको लागतमा गाउँभरि घैंटो निर्माण गरिएको थियो ।

“पानीको समस्या अझै पनि छ, घैंटोले केही राहत भए पनि पर्याप्त छैन,” वडाध्यक्ष प्रेम थापाले भन्नुभयो – “मुहानको अभावका कारण लिफ्ट खानेपानी आयोजना सञ्चालनका लागि अगाडि बढेका छौं ।” थापाका अनुसार एक करोडको लागतमा लिफ्ट खानेपानी सञ्चालन गर्न प्रदेश सरकारसामु प्रस्तावना पठाइएको छ । हाल पानी खाइरहेको मूल र खोला खर्कबाट लिफ्ट गरी ल्याइएको पानीलाई एकै ठाउँमा जम्मा गरेर एक घर एक धारा बनाउने लक्ष्य राखिएको थापाले बताउनुभयो ।

पहिलो चरणमा चार हजार लिटर र दोस्रो चरणमा ६ हजार लिटर पानी अट्ने घैंटोमा आकाशे पानी सङ्कलन गरी हिउँदमा प्रयोग गरिँदै आइएको छ । घैंटो निर्माण सँगै बसाइसराइ गर्ने क्रम घटेको छ तर, पानीको अभाव भने यथावतै छ । जिल्लामै पहिलोपटक घरबास (होमस्टे) सञ्चालन भएको उक्त गाउँमा पर्यटकको स्वागत सत्कारमा समेत खानेपानीले समस्या उत्पन्न गरेको छ । “वर्षाको समयमा पानीको कुनै अभाव हुँदैन,” अतिथि सत्कार घरबासका सञ्चालिका अप्सरा थापाले भन्नुभयो – हिउँदको समयमा पानीको अभाव हुँदा पाहुना नै नआएको भए हुन्थ्यो भन्ने लाग्छ ।” घैंटोको पानीले केही राहत भए पनि पाहुनाहरुलाई अपुग हुने गरेको थापा बताउनुहुन्छ ।

घंैटोमा खानेपानी सङ्कलन गर्न थोलपछि खानेपानी लिन धारामा लाम बस्नुपर्ने अवस्था अन्त्य भएको स्थानीयवासी तिला थापाले बताउनुभयो । खानेपानी अभावका कारण यहाँका स्थानीय बासिन्दा कपडा धुन र नुहाउन हप्तामा एक दिन खोलाखर्क जाने गरेका छन् । उनीहरुले वस्तुभाउलाई भने घैंटोको पानी खुवाउने गरेका छन् ।

बागलुङ बजारदेखि दुईतिरबाट मोटरबाटो पुगेपछि बाह्य तथा आन्तरिक पर्यटकहरुको आवागमन बढ्दै गएको छ । पछिल्लो समय गाउँलेहरु गाउँ छाड्ने भन्दा पनि वैकल्पिक उपायको रुपमा घैंटो निर्माणमा जुटेको पाइन्छ । पर्यटकीय गाउँको रुपमा चिनिएको भकुण्डे गाउँमा मूलाबारी भ्यू टावर, बराह तालमा नौका विहार, हीराताल, सङ्ग्रहालय लगायतका मनोरम पर्यटकीय स्थलहरुको अवलोकन गर्दै घरबासमा रात बिताउन पर्यटकहरु भकुण्डे पुग्ने गरेका छन् । बागलुङमा हुने सानातिना कार्यक्रम, तालीम, गोष्ठीहरुसमेत भकुण्डेमा हुन थालेपछि घैंटोको पानी प्रयोग गर्न थालिएको इन्द्रा थापामगरले बताउनुभयो । उहाँका अनुसार स्थानीयवासीले विशेष गरी तीन महिनाका लागि वर्षाको पानी सङ्कलन गरेर उपयोग गर्ने गरे पनि एक महिना नपुग्दै घैंटो रित्तिने गरेको छ । भकुण्डेको पर्यटन प्रवद्र्धनका लागि दीर्घकालीन खानेपानी आयोजना सञ्चालन गर्न पहल भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

“पर्यटनको विकासका लागि अन्य स्थानमा करोडौंको संरचना निर्माण गर्नुपर्ने हुन्छ,” प्रमुख पौडेलले भन्नुभयो – “भकुण्डेको मौलिक संस्कृतिले लोभिएका पर्यटकलाई खानेपानीले समस्यामा पार्नु दुःखद् हो । ठूलै योजना सञ्चालनको तयारीमा छौं ।” सानो आयोजनाले भकुण्डेमा खानेपानीको समस्या समाधान गर्न नसकिने भएकाले बागलुङ नगरपालिकाले प्रदेश सरकारसँग समन्वय गर्नेे भएको छ ।

भकुण्डेमा आकाशे पानीकै भरमा स्वादिष्ट आलु उत्पादन हुँदै आएको छ । सिँचाइको प्रबन्ध हुन सके आलुको पकेट क्षेत्रका रुपमा भुकण्डे गाउँलाई अगाडि बढाउन सकिने स्थानीय अगुवाहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *