एजेन्सी । अमेरिकाको डेल्टा एयरको एक जहाजमा गत हप्ता एउटा विशेष पल क्यामेरामा कैद भयो । यो विमान उडाउने दुई पाइलटहरु साख्खै आमाछोरी थिए । यो कुरा जब विमानका यात्रुहरुले थाहा पाए सबै निकै उत्साहित भए ।

एक यात्रुले त उनीहरुसँग भेट्ने इच्छा देखाए र उनीहरुको फोटो पनि खिचे । एउटै विमान उडाइरहेका साख्खै आमाछोरी पाइलट भएको यो पहिलो घटना हो । उडिरहेको एउटै विमानको ककपिटमा ड्युटीमा रहेका आमाछोरीको यो फोटो निकै लोकप्रिय भइरहेको छ ।

आमाछोरीको यो जोडीले विमानलाई लस एन्जल्सबाट अटलान्टा लिएर गएका थिए । एक यात्रुले यी दुईको यो विशेष पल क्यामेरामा कैद गरे र फोटो शेयर गर्दै लेखे ‘यी आमाछोरीलाई भेट्नुस् । यी हुन् क्याप्टेन वेंडी रेक्सन र उनकी प्रथम अफिसर छोरी केली रेक्सन ।’

यो पोस्ट ५० हजार भन्दा धेरै पटक लाइक गरिएको छ र १८ हजार भन्दा धेरै पटक रिट्वीट भएको छ । यो फोटोमा कमेन्ट गर्दै अर्का एक पाइलटले पनि आफ्ना छोरासँगको फोटो शेयर गरेका छन् । यी बाबुछोराले पनि केही समयमै एउटै विमान उडाउने अद्भूत अवसर पाउँदैछन् ।

ट्वीटरमा यो फोटोलाई उत्साहित बनाउने खालको भएको प्रतिक्रिया दिएका छन् । रिपोर्टका अनुसार वेंडीको परिवारका लगभग सबै पाइलट छन् । उनका पिता बिल ब्राउन अवकाशप्राप्त पाइलट हुन् । उनका पति माइकल रेक्सन अमेरिकन एयरलाइन्सका पाइलट हुन् र उनकी अर्की छोरी केट पनि पाइलट नै हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *