काठमाडौं : बारा र पर्सामा जनधनको क्षति हुने गरी आएको हुरी ‘टोर्नाडो’ नै भएको पुष्टि भएको छ । जल तथा मौसम विज्ञान विभागले स्थलगत रुपमा गरेको अध्ययनबाट यही चैत १७ गते आइतबार साँझ आएको हुरी टोर्नाडो भएको पाइएको हो।

विभागले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई स्थलगत रुपमा गरिएको अध्ययन प्रतिवेदन बुझाएको छ। विभागका महानिर्देशक सर्जुकुमार वैद्यले स्थलगत रुपमा पाइएको तथ्य र अन्य प्रमाणका आधारमा सो दिन आएको हुरीको गति ५० किलोमिटरदेखि २०० किलोमिटर प्रतिघण्टा बराबरको रहेको मन्त्री पुनलाई जानकारी गराएका थिए।

वर्षा, हिमपात तथा तापक्रमको मात्रै मापन तथा अनुमान गर्दै आएको विभागले हुरीको विषयमा भने कुनै जानकारी नै राखेको थिएन । हुरीको बारेमा अनुमान गर्न नसक्दा बारा र पर्साका २८ जनाको ज्यान गएको थियो। यस्तै ६०० बढी घाइते भएका थिए। पशुचौपाया, अन्नपातमा समेत क्षति पुगेको थियो। विभागको स्थलगत अध्ययनअनुसार हुरी पर्साको जगतपुरबाट शुरु भई बाराको बैरियामा पुगेर टुङ्गिएको थियो।

स्थलगत अध्ययन प्रतिवेदन बुझ्दै मन्त्री पुनले विभागलाई साधन र स्रोत सम्पन्न बनाउन तत्काल पहल गरिने बताए। ‘नेपालीको स्वभाव परेपछि मात्रै चेत्ने देखिएको छ । हामीले ठूलो धनजनको क्षति व्यहोर्‍यौँ, अब त केही न केही चैत्नै पर्छ। विभागलाई साधन र स्रोतले सम्पन्न बनाउन मन्त्रालयले विशेष व्यवस्था गर्छ, हामीले गर्नैपर्छ’ मन्त्री पुनले भने।

सुर्खेतमा मौसमको समग्र अवस्थाको बारेमा अध्ययन गर्न जडान गरिएको राडारलाई समेत छिट्टै प्रभावकारी रुपमा सञ्चालनमा ल्याइने उनको भनाइ थियो। यस्तै पाल्पा र उदयपुरमा राडार जडानका लागि ठेक्का प्रक्रिया शुरु भएको छ। ती स्थानमा समेत शीघ्र राडार जडान गरिने मन्त्री पुनको भनाइ थियो। उनले मन्त्रालयको बजेट नै रकमान्तर गरेर भए पनि विभागलाई सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *