• वासुदेव पौडेल    
        
    पोखरा : वर्षात् शुरु भएसँगै यतिखेर बाघमाराका कृषक लहरे तरकारीको तयारीमा जुटेका छन् । बेर्ना तयार गर्नु, हुर्किएका बेर्नाका लागि थाँक्रो राख्नु, असिनाजस्ता प्रकोपबाट जोगाउन प्रयास गर्नु यतिखेर यहाँका कृषकको दैनिकीजस्तै बनेको छ ।

    पोखराको बजारमा विशिष्ट पहिचानजस्तै बन्दै गएको यहाँको दूध तथा तरकारीको व्यवसायबाट कृषकले राम्रो आयआर्जन गर्न सफल बनेको बाघमाराका अगुवा कृषक खगेन्द्रराज अधिकारीले बताउनुभयो । जलवायु परिवर्तनका कारण वर्षेनी मौसममा हुँदै गएको परिवर्तनसँगै यहाँको तरकारी उत्पादन हुने क्रममा पनि परिवर्तन आएको छ ।

    पछिल्ला चार दशकको अन्तरालमा यस क्षेत्रमा शुरुमा दाल र पिडालु उत्पादन हुने गरेकोमा त्यसपछि गोलभेँडा हुँदै अहिले लहरे तरकारी राम्रो उत्पादन हुने गरेको छ । आजभन्दा झण्डै डेढ दशक अघिसम्म बाघमाराको गोलभेँडा पोखरामा मात्र नभएर स्याङ्जा, तनहुँका साथै नेपालका प्रमुख शहर बुटवल, काठमाडौँलगायतका बजारमा पुग्ने गरेको थियो । बाघमाराको गोलभेँडा भनेर विशिष्ट पहिचान बनाए पनि यो खेती २०५५/५६ सालदेखि भने विस्थापित बन्दै लहरे खेतीतर्फ आकर्षण बढेको हो । त्यस्तो उत्पादन हुने गोलभेँडा विस्थापित बन्नु अनुसन्धानकै विषय भएको कृषक बताउँछन् ।

    बढ्दो शहरीकरणका साथै मुलुकका अधिकांश स्थानमा कृषिप्रतिको अनिच्छा बढिरहेको अवस्थामा यहाँ भने व्यावसायिकताले अझै गति लिँदै गएको अर्का कृषक ठाकुरप्रसाद आचार्यले बताउनुभयो । तरकारी खेतीका साथै दूधलाई लक्षित गरी व्यावसायिक रुपमा नै पशुपालनको क्रमसमेत तीव्ररुपमा बढिरहेको आचार्य गाई फार्मका सञ्चालकसमेत रहनुभएका उहाँले जानकारी दिनुभयो ।

    चार दशकअघि बाघमारामा उत्पादन हुने पिडालु, उखु, दाल कास्कीसहित आसपासका विभिन्न स्थानमा माग हुने गरेको यहाँका स्थानीयवासी बताउँछन् । बाघमारामा विशेष गरी वर्षात्को सहयोगमा घिरौँला, चिचिन्डा, लौका, फर्सी, सिमी, बोडीलगायतका लहरे तरकारीको राम्रो उत्पादन हुन्छ ।

    आजभन्दा साढे दुई दशकअघिदेखि बाघमाराबाट दुग्ध विकास संस्थानलाई दूध सङ्कलन गरी बिक्री गर्न थालेसँगै यस क्षेत्रमा कृषिको व्यावसायिकता विकास भएको हो । तत्कालीन समयमा नै अधिकतम १६० लिटरसम्म दूध यहाँबाट दुग्ध विकास संस्थानलाई दिइएको थियो ।

    शुरुमा दुग्ध विकास संस्थानले दूध लैजाने गरेकोमा २०६१ साल भदौदेखि पोखरामा निजीस्तरबाट सञ्चालित पन्थी डेरीले बाघमारामा दूध सङ्कलन गर्न थालेको थियो । अन्य निजी डेरी पनि बाघमारामा सम्पर्कमा आउन थालेसँगै गाईपालनको वातावरण विकास भएको हो । त्यस समयमा २५० लिटरसम्म दूध सङ्कलन हुने गरेको थियो ।

    विसं २०५०/५१ सालतिर बाघमारामा बस सञ्चालन नहुँदा तालचोकसम्म बोकेर दूध पु¥याउनुपर्नेमा यातायातको सुविधासँगै २०६१ सालपछि पुलचोकमा दूध सङ्कलन केन्द्र खोलिएको थियो । पछिल्लो डेढ दशकयता भने चिरगादीमा पक्की पुल बन्नुका साथै पोखराको दोभिल्ला हुँदै सवारी साधन आवतजावत गर्न थालेका कारण उत्पादित दूध बजारमा पु¥याउन सहज भएको छ । बाघमाराबाट दैनिक सात हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ । वडास्तरीय कृषि सञ्जालका संयोजक चन्द्रप्रसाद पौडेलका अनुसार दूध उत्पादनको बढ्दो क्रमसँगै बाघमारालाई २०७४ मा दूधको शहर घोषणा गरिएको थियो ।

    दूधको बिक्री वितरणको सहजताका लागि हाल यस क्षेत्रमा आठवटा दूध सङ्कलन केन्द्र सञ्चालनमा आएको जानकारी दिँदै उहाँले व्यावसायिकताको विकासलाई लक्षित गरी बृहत्तर गाईपालन समितिसमेत गठन गरिएको बताउनुभयो ।

    बढ्दो व्यावसायिकताप्रतिको आकर्षणलाई आत्मसात् गर्दै पोखरा महानगरपालिका–३३ ले कृषिका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिएको वडाध्यक्ष शिवप्रसाद आचार्यले बताउनुभयो । “कृषकलाई उत्पादन सहजरुपमा बजार पु¥याउन सडक पूर्वाधार विकासमा जोड दिएका छौँ”, उहाँले भन्नुभयो, “हामीले भरतपोखरीको तल्लो भागको समथर भूभागलाई गाईपालनको पकेट क्षेत्र र माथिल्लो भागलाई बाख्रा तथा कुखुरापालनको पकेट क्षेत्र बनाउन लक्ष्य राखेका छौँ ।”

    कृषकलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले बाघमाराका पुष्प बस्ती, शिव बस्ती र तिक्लाङमा डिप बोरिङ गरिएको छ । वडाध्यक्ष आचार्यका अनुसार भरतपोखरीको अत्यधिक उत्पादनयोग्य सुरौदी क्षेत्रमा बाँझिदै गएका खेतमा खेतीका साथै व्यावसायिक पशुपालन लक्षित गरी गोठ बनाउने कृषकका लागि वडाका तर्फबाट छाना राख्ने सहयोग गरिने छ । यहाँका कृषकलाई उत्प्रेरित गर्न प्रदेश तथा सङ्घका तर्फबाट प्रदान गरिने अनुदान उपलब्ध गराउन वडाका तर्फबाट सहयोग गरिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *