सेतै फुलेका दारी। चाउँरी परेका गाला। दन्तविहीन मुहार। कुप्री परेको ज्यान पर्खालमा अडेस लागेर आगन्तुको पदचापको प्रतिक्षामा छ। अनुहार कालो होस् वा गोरो होस् वास्ता छैन वास्ता त केवल आगन्तुकको पदचापको हो। जसले उनको पेट पालिन्छ।

जीवनका ७५औँ वसन्त पार गर्दैगर्दा बूढेसकाललाई साथ दिने एउटा बाँसको लठ्ठी, पुरानो ज्याकेट र कुनै साहुजीले दया गरेर किनिदिएको जोखिन प्रयोग गर्ने इन्जिन मात्रै बाँकी छ। यही इन्जिनले हो डिलबहादुर तामाङको ज्यान धानेको र सात वर्षदेखि ग्राहकको प्रतीक्षामा गोडा गनेको।

अहिले दोधारमा छन्। त्यो इन्जिन पनि कुनै ग्राहकले बिगारिदिए। कमाइ खाने भाँडो नै बिग्रिएपछि दुविधा हुनु स्वभाविक नै हो। सामू छन् दुर्इवटा विकल्प, बनाउन जाने की अर्कै धन्दा गर्ने। अर्कै धन्दा गर्ने ल्याकत छैन।

इन्जिन बनाउन कालिमाटी जानु पर्ने। बानेश्वरबाट कालिमाटी पुग्न सुदूरपश्चिम पुगे जत्तिकै गाह्रो छ। इन्जिनको पूर्जा फेर्न त के त्यहाँसम्म पुग्ने गाडी भाडासमेत छैन। अर्को चिन्ता पैसा भए पनि सार्वजनिक यातायातमा बूढाबूढीलाई चढाउनै मान्दैनन्।

०००

सुखी जीवनको मीठो कल्पना, त्यही कल्पनालार्इ पूरा गर्न काठमाडौं छिर, ३० वर्षे जवानी लिएर। पाखुरी बल छउन्जेल ज्याला मजदुरी मै जीवन बित्यो। ‘अहिले जस्तो काम कहाँ पाइन्थ्यो र त्यतिबेला’, काम खोज्दै भौतारिएका दिन सम्झिन्छन् र तुरून्तै वर्तमानमा फर्किन्छन्, ‘अहिले काम पाइन्छ तर काम गर्ने तागत छैन।’

अहिले जस्तो पहिले थिएन बानेश्वर। एकाध घर थिए। बानेश्वर चोकनजिक ठूलो पिपलको बोट, त्यही पिपलको बोट मूनि रात काट्थे। कुनै साहुमाहजनले मजदुरी गर्न बोलाए पुग्थे। बोलाउँदा जान्थे नत्र त्यहीँ बस्थे।

यसरी जीवन चल्दैन जस्तो लाग्यो। होटेलमा भाँडा माझ्न थाले। अहँ सकेनन्, साबुन पानीले हात फत्रक्कै गले। सोचे मजदुरी नै ठीक छ। ‘मजदुरीको बल छउन्जेल त हो। बूढेस्कालमा तागत हुँदैन। काम पाउने कुरै भएन,’ एकाएक भावुक बने।

सधैँ यस्तो कहाँ थियो र। उनका पनि दिन थिए।

सुन्दर श्रीमती थिइन्। हाँसी खुसी दुबै मजदुरी गर्थे। उनी चालिस टेक्दै गर्दा एक छोराका बाबु भए। खुसी कुनै सीमा थिएन दुबैको। मजदुरी गरेरै भए पनि गुजारा चलेकै थियो। भावीलार्इ कहाँ यो सब मन्जुर, त्यो खुसी धेरै दिन टिक्न।

छोरा वर्षीको पुग्नै लाग्दा श्रीमती बिरामी परिन्। छाती दुख्यो भन्दै छटपटाउन थालिन्। उपचार गराउन पर्याप्त पैसा थिएन्। पैसा जोरजाम गरेर दौडाउँदै सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) पुर्‍याए। त्यहाँका डाक्टरले भ्यान्टिलेटरमा राखेर उपचार गर्नु पर्ने बताए। उनले त्यसै गरे। भोलिपल्ट बिहान सात बजे श्रीमती संसार छोडिन्।

‘चार हजार लाग्छ भने डाक्टरले, साथी-भाइसँग हार गुहार गरी खोजेर ल्याएँर भर्ना गरेँ, भोलिपल्ट बिहान मृत घोषित गरिदिए,’ खाका बसेको घाउ कोट्याउँदा एकाएक भावुक बने।

श्रीमतीको मृत्युपछि उनको जीवन झन कष्टकर बन्यो। काखे बालक लालनपालन गर्ने कि ज्याला मजदुरीमा जाने, वर्षीको बालख कसलार्इ छोडेर जाने? आफन्त भन्ने कोही थिएन्, दोधारमा परे। ज्याला मजदुरी नगरी खाना पुग्दैन, श्रीमतीलार्इ उपचार गर्दाको ऋण पनि छ।

श्रीमती बितेको केही दिनमै फेरि अर्को बज्रपात आइ लाग्यो।

छोरा पनि बिरामी पर्‍यो। उपचार र पोषिलो खाना खुवाउन उस्तै समस्या। नाबालक छोराले पनि अकालमै ज्यान गुमायो। छोरा र श्रीमतीको मृत्युपछि बिछिप्त बने। त्यसै भौतारिन थाले। साथीभाइले अर्को विवाह गर भन्थे तर मनै मानेन्। उनी भन्थे, ‘भाग्यमै छैन भने किन अर्को विवाह गर्ने?’

मनको पीडासँगै शरीर पनि गल्दै गयो। काम गर्ने तागत ह्रास भएपछि ज्यान पाल्ने जिम्मा भगवान् भरोस छोडिदिए। भगावन् बनेर आए एक ब्यापारी, उनलै किनिदिए जोख्ने मेसिन, एउटा नाग्लो र केही प्याकेट चुरोट र सुर्ती पनि।

त्यही बेचर गुजार चलाउँदै आएको पनि सात वर्ष पुग्यो। यो सात वर्षको अवधीमा कयौँ पटक महानगरले उनका सामान खोस्यो। घाम पानी थेगे। यस्तै कायौँ रात छन्, भोक्कै सुतेका।

सरकारले सडक पेटीमा सामान राख्न नदिने निर्णय गरेका कुनै व्यक्तिले सुनायो उनलाई। र यो पनि सुने, सरकारले सामाजिक सुरक्षाभत्ता अन्तर्गत वृद्धा भत्ता दुर्इ हजार दिन्छ भने। तर, पाएका भने छैनन्।

भत्ता पाउन नागरिकता चाहियो, नागरिकता हराएको वर्षौं भयो। बनाउन जाने गोजिमा पैसा र शरीरमा ल्याकत दुबै छैन। तर, पनि कतैबाट सहयोग भए नागरकिता बनाएर भत्ता खाने सोच बनाएका छन्।

उनी हातका औँला भाँच्दै भन्छन, ‘फोटो खिच्न सय, काभ्रे जान सय, फारम भर्न सय, झन्डै पाँच सय जति भयो भने त नागरिकता बन्दो रहे छ। नागरिकता भयो भने भत्ता पाइन्थ्यो जीवन धान्न अल्लि सहज हुन्थ्यो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *