काठमाडौं : प्रदेश सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत प्रदेश २ मा अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र बाहिरिएको भन्ने विषय हल्ला मात्रै रहेको बताएको छ। प्रश्नपत्र बाहिरिएको भन्ने हल्ला चलेपछि प्रदेश सरकारले छानबिन गरी बाहिरिएको प्रश्नपत्र अघिल्लो वर्षको भएको पुष्टि गरेको हो।

शिक्षा विकास तथा समन्वय निर्देशनालय प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले बाहिरिएको भनेको अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा विषयको प्रश्नपत्र अघिल्लो वर्षको रहेको बताए। उनले उक्त प्रश्नपत्र अघिल्लो वर्षको पुष्टि भएकाले शनिबारको परीक्षा नियमित हुने उनले बताए। ‘हामीले अनुसन्धान गर्‍यौँ, अहिले बाहिर आएको रातो प्रश्नपत्र पुरानो हो भन्ने पुष्टि भयो। भोलिको परीक्षा अहिलेसम्मलाई नियमित हुने तालिका छ। राति केही नभए परीक्षा नियमित हुन्छ’ उनले भने।

बिहीबार र शुक्रबार दुई दिन प्रदेश २ बाट लगातार प्रश्नपत्र बाहिरिएपछि परीक्षा नै स्थगित भएका छन्। बिहीबार अनिवार्य विज्ञान विषय र शुक्रबार अनिवार्य सामाजिक विषयको प्रश्नपत्र सामाजिकबाट तीव्र रूपमा शेयर गरिएका थिए। एकपछि अर्को विषयको प्रश्नपत्र बाहिरेपछि संघीय सरकारले उक्त अनियमितताको छानबिन गर्ने जिम्मेवारी नेपाल प्रहरी केन्द्रीय अनुसन्धान विभाग (सिआइबी)लाई दिएको छ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा मन्त्रालयमा बसेको एसइई सुरक्षा समितिको बैठकले परीक्षामा भएको अनियमिताको छानबिन गर्ने जिम्मेवारी सिआइवीलाई दिने निर्णय गरेको हो। सिआइबीले अहिलेसम्म भएका अनियमितता र परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको सम्बन्धमा छानबिन गर्नेछ।

यसैबीच शिक्षा मन्त्रालयमा शुक्रबार साँझ एसइई सम्बन्धमा सुरक्षा निकायका अधिकारीहरूसहित आकस्मिक बैठक बसेको छ। उक्त बैठकमा ७७ जिल्लाबाट प्रश्न पत्रको पोका खुलेको नखुलेको बुझेर उक्त बैठकमा रिपोर्टिङ गर्ने र सोही आधारमा आगामी परीक्षाबारे निर्णय हुने मन्त्रालयले जनाएको छ।

बैठकमा मन्त्री पोखरेल, मन्त्रालयका सचिव खगराज बराल, परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारी, गृह प्रवक्ता एवं सहसचिव, राष्ट्रिय परीक्षा बोर्डका सदस्यहरू, सेनाका जर्साब, प्रहरीका एआइजी, सशस्त्रका डिआइजी, राष्ट्रिय अनुसन्धान विभागका अधिकृतलगायत उपस्थित रहेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल भने अमिरिका भ्रमणमा रहेको बताइएको छ।

देशभर यही चैत १० गतेदेखि शुरु भएको परीक्षा २१ गतेसम्म चल्नेछ। यता प्रदेश- २ मा प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परिक्षा यही चैत २२ र सामाजिक विषयको परीक्षा २३ गतेलाई तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *