उमा केसी

रोल्पा । रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन ।

आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने ठाउँमा बसोबास गरे पनि दयनीय जीवन यापन गर्न बाध्य छन् । जिल्ला अस्पताल नजिकै घर भए पनि रोग लाग्दासमेत अस्पतालसम्म पुर्‍याउने न कुनै सहारा छ, न त अस्पतालको उपचारका लागि चाहिने पैसा नै । उनीहरू हातको संकेतबाट मात्र कुरा गर्छन् । घरमा खाना नभएका कारण कैयौँ रात भोकभोकै सुत्न बाध्य हुन्छन् ।

जाडो होस् या गर्मी एकसरो कपडामा रहन्छन् उनीहरू । सुत्नका लागि ओढ्ने ओछ्याउने कपडा नहुँदा उनीहरूका कैयौँ रात कठ्यांग्रिएर बितेका छन् । जन्मेदेखि अहिलेसम्म उनीहरूको खुट्टाले जुत्ताचप्पल देख्न पाएको छैन । बस्ने घर नहुँदा लामो समय नातेदारको घरमा बसेका उनीहरू पछिल्लोपटक सरकारले निर्माण गरेको घरमा बस्दै आएका छन् ।

पहिले बुबाआमाले गाउँमा कटुवालेको काम गर्थे । एक ठाउँको समाचार अर्को ठाउँमा पुर्‍याउने, गाउँमा हुने महत्वपूर्ण कार्यक्रमको खबर आदानप्रदान गर्ने काम गरेवापत खलोको रूपमा अन्न दिने चलन थियो । खलो संकलनबाट जीविका चलाएका उनका बुबाआमाको मृत्युपछि भने उनीहरु बेवारिसे बनेर हिँड्न बाध्य भए । अहिले उनीहरूसँग सरकारले बनाइदिएको सानो झुपडी र त्यस वरपर रहेको जग्गा मात्र बाँकी छ । ‘नापी गर्दा उनीहरूको हकभोगको जग्गासमेत नापी नक्सा नगरी छुटाइदिएका कारण अहिले सार्वजनिक जग्गाको रुपमा उपयोग भइरहेको छ’, रोल्पा नगरपालिका–२ का वडाध्यक्ष खिमबहादुर घर्तीले भने ‘बुबाको पालामा अब्बल जग्गाका धनी उनीहरू बुबाआमाको मृत्युपछि भने गाउँका मुखिया जिम्मुवालका कारण सुकुम्वासीजस्तै बनेका छन् ।’

दाजु गोपाल र भाइ प्रसादले गाउँलेले ल्याइदिएको भीमलबाट दाम्लो र डोरी बुन्ने गर्छन् । दाम्लो र डोरी बुनेवापत दिने दुई/चार माना अन्न र सय/पचास रुपैयाँ भएको छ त्यो परिवार बाँच्ने आधार । वृद्धावस्थाले आँखा कमजोर हुँदै जाँदा डोरी र दाम्लो बनाउनसमेत धौधौ हुने गरेको छ । उनीहरू कहिलेकाही गाउँमा हुने विवाह तथा शुद्ध कार्यमा गएर कैयौँ दिनका छाक टार्ने गर्दछन् । त्यस्ता काममा गएका उनीहरुलाई गाउँलेले कृपा गरेर दिने एक/दुइ सय पनि साँझबिहान जोहो गर्ने आधार बनेको छ ।

वडा कार्यालयले दाजु गोपाललाई ज्येष्ठ दलित भत्तावापत मासिक रु एक हजार र भाइ प्रसादलाई मासिक रु ६०० उपलब्ध गराउँदै आएको वडाध्यक्ष घर्तीले बताए । उनीहरूका आफन्त भाइ नाता पर्ने हर्कमान विक र काका नाता पर्ने गनबहादुर विकले भत्ता बुझिदिने गरेको वडाध्यक्ष घर्तीले बताए । ‘बहिनी आसारा भने विवाह गरेर अन्यत्र गएको र पछि फर्केर आएको भन्ने जानकारी हुन आएकाले भत्ता दिइएको छैन’, वडाध्यक्ष घर्तीले भने ।

पोषणको अभावमा परिवारका सबै सदस्यमा त्यस्तो समस्या आएको हुनसक्ने स्थानीय कुलबहादुर डाँगीले बताए । ‘सानैदेखि कुपोषणको दुश्चक्रले परिवारका सबै सदस्यलाई छोएको देखिन्छ यस्तो अवस्थामा दैनिकी चलाउँदै आउने परिवारको संख्या रोल्पामा धेरै हुनसक्छ’ डाँगीले भने । उनीहरूलाई स्थानीय सरकारले विशेष संरक्षण र रेखदेख गर्नुपर्ने डाँगीको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *